साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारणले साल्ट ट्रेडिङलाई करोडौँको घाटा हुने


ईकोनोमिक खबर,वीरगंंज।

साल्ट ट्रेडिङ कर्पोरेसनको आयातीत ५० हजार बोरा डिएपी मल वीरगंजको सिर्सिया सुख्खा बन्दरगाह(ड्राईपोर्ट) भन्सारले भिजेर विग्रिएको मल जाँचपास नगर्ने भएको छ।

नेपाली किसानको प्रमुख खाद्यबाली धान रोपेर गोड्ने बेलासम्म पनि आउन कठिनाई भयो। नेपाल सरकार अन्तर्गतको कृषि सामग्री कम्पनि लिमिटेडको मल पनि नेपाल भित्रिएको छैन, नयाँ एजेन्टले गर्दा समयमा मलको आपूर्ति गर्नसकिरहेको छैन। यसले गर्दा मन्त्रालयमा चर्को दबाव रहेको देखिन्छ।

भारतको कोलकत्ता बन्दरगाहबाट रेलमार्ग हुँदै वीरगंंजको सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा शनिबार बेलुकी आइपुगेको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले आपूर्ति गरेको ५० हजार बोरा डिएपी मल भिजेर जाँचपास गर्न अयोग्य रहेको भनी सुख्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारले जाँचपास नगरेको हो।

अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेकाले बर्षाको पानिले भिजेर बिग्रिएको अवस्थामा रहेको उक्त डिएपी मल कुनैपनि हालतमा भन्सार जाँचपास नगरिने प्रमुख भन्सार अधिकृतले बताउनुभयो।

साल्ट ट्रेडिङ कर्पोरेसन वीरगंजका प्रमुख लामिछानेका अनुसार सिङ्गापुरबाट कोलकत्ता डेढ महिना पहिले ल्याएको आएकोमा बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण कोलकत्ता बन्दरगाहमा नै भिजेको बताउनुभयो। डलरमा एलसी (प्रतीतपत्र) खोलेर ल्याइएकाले नेपाल राष्ट्र बैङ्कको नियमअनुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने भएकाले त्यसलाई बीचबाटोबाटै फर्काइएन । सामान नेपाल आयात भएको देखिएन भने मुद्रा अपचलन गरेको आरोप लाग्छ । त्यसैले भिजेको भए पनि डिएपी मल भित्र्याएका हौँ।’

साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारण भन्सार जाँचपास नहुने भएकाले साल्ट ट्रेडिङलाई करोडौँको घाटा हुने देखिएको छ र यसमा नेपाल सरकारको प्रतिबोरा अनुदान १३२.२० पैसा घाटा लाग्न सक्नेछ । यस विषयमा आपूर्तिकर्ता स्वीस सिङ्गापुरसँग कुरा भइसकेको बताउँदै अहिले आपूर्तिकर्ताको नै मालवस्तु भएकाले आफूहरूले नलिएसम्म साल्ट ट्रेडिङ कर्पोरेसनको नहुने दाबी गर्नुभयो।