ईकोनोमिक खबर, काठमाडौं।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ गते मङ्गलबार देखि दैनिक ५ सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरेको छ।
नयाँ तालिका अनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । यस्तै १० गते आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ।
यस्तै ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्धार उडान गर्नेछन्।
टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन् । यसअघि ती एयरलाइन्सले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड मिचेर जहाजभरि यात्रु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी एक सयभन्दा बढी यात्रु नल्याउन निर्देशनसमेत जारी गरेको छ।
भदौ १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्नेछ।
त्यसैगरी भदौ १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट उडान गर्ने निश्चित भएको छ ।
भदौ १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्वालालम्पुरबाट एकसाथ उडान गर्नेछन्।
१५ गते नेपालले दुबई र हिमालयनले आबुधाबीबाट उडान गर्ने तालिका सार्वजानिक भएको छ।
यससँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरिएको छ।
उद्धार उडानका लागि यात्रुहरूले पीसीआर रिपोर्ट ल्याउनुपर्ने, पीसीआर टेस्ट गरेका र नगरेकालाई एकै ठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ।
पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिने पनि जनाइएको छ।
पीसीआर परीक्षण सहज नभएका मुलुकहरू जस्तै– साउदी अरब, कुवेत, कतारलगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने व्यवस्था गरिएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान हुनेछन्।
कोषको खर्चबाट उद्धार गरिएका बाहेक अन्यलाई अनिवार्य एक साता होटल क्वारेन्टाइनमा राखिने भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्ति बाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिक काठमाडौँ उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ । तर पीसीआर नेगेटिभ आएमा उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता सहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।