काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १० गते सम्मका लागी जारी


ईकोनोमिक खबर, काठमाडौं।
उपत्यकामा कोभिड १९ संक्रमणको स्थिति बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भदौ १० गते सम्मका लागी जारी गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्वसावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीनवटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावस्यक सेवा बाहेकका सबै सेवा सहित मानिसको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन । अत्यावस्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन ।

अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षानिकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न नदिने र जिल्ला भित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी आदेश जारी गरिएको दाहालले बताए ।

त्यस्तै, कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिने भएको छ ।

अत्यावश्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्वअनुमति आवश्यक पर्ने छैन ।

मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाउने निर्णय पनि भएको छ । त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रूपमा हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न पाइने छैन् ।

शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगायतका क्रियाकलापमहरु सञ्चालन गर्न समेत निषेध गरेको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत सञ्चालन गर्न पाइदैन ।

फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेष्टुँरासमेत सञ्चालन गर्न पाइने छैन । बैंकिङ सेवाका लागि भने भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनसमेत आदेश गरेको छ ।

अत्यावश्यक सेवाका लागि घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्नसमेत निर्देशन दिएको छ । हवाई उडानबाट विदेशमा जानेहरूका लागि पासपोर्ट, भिसा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारीसाधनको हकमा सहजीकरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय भएको समेत दाहालले बताए ।

आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेमाथि पनि प्रचिलत कानुनबमोजिम कारबाही हुने उनले बताए । उनले पासको व्यवस्था पनि नगरिएको बताए । पासको व्यवस्था गर्दा भीडभाड बढ्ने भएकाले पास जारी नगर्ने निर्णय भएको उनले बताए ।