ईकोनोमिक खबर, काठमाडौं।
काठमाडौंको टोखा –१०, गोंगबुमा कृष्ण बहादुर बोहोराको हत्यामा संग्लन आरोपमा मंगलबार प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।
चितवन कालिका नगरपालिका–७ माईतीघर भई हाल टोखा नगरपालिका –१० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र उनकी १५ वर्षीया छोरीलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलन दिएको जानकारी अनुसारः
➡️पछिल्लो ८ महिना देखि होटलमा बस्दै आएका मृतक कृष्ण बहादुर बोहोरा बर्ष ४५ र अन्दाजी बर्ष ३७ कल्पना मुडभरी (पौडेल) बिच विगत तीन/चार वर्षदेखि फेसबुकबाट चिनजान भएको,
➡️कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि कल्पना एक्लैले अण्डकोषमा हम्मरले प्रहार गरेर बेहोस बनाई, कालो सलले घाँटी कसेर हत्या गरेकी,
➡️बोहोरा मरेको एकिन गरेपछि बाथरुममा लगी उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको, शव ब्यवस्थापनमा १५ बर्षिय छोरीको सहयोग लिएको,
➡️ हत्याको मुख्य कारणमा यौन शोषण, र फेक आईडी बनाई नांगो तस्बिर फेसबुकमा हाल्नु,
➡️ नाबालिक छोरीको सहयोग लिएर शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिएको,
चार बर्षअघि कल्पना र कृष्णबहादुरको चिनजान भयो । त्यतिबेला बोहोरा विदेशमा थिए । पछिल्लो तीन बर्षयता काठमाडौँमा उनीहरु दुईजनाको बिचमा भेट भइरहन्थ्यो ।
कमला पौडेलको नामबाट कल्पनाले फेसबुक चलाउँथिन्। तर, उनको फोटो राखेर बोहोराले ‘कल्पना शाही’ नामबाट फेसबुक आईडी बनाए । सो आईडीबाट अरु केटाहरुलाई फिसिङ गर्न थाले । बोहोराको कर्तुत थाहा पाएपछि कल्पनाले त्यसो नगर्न भनिन् । तर, उनलाई उल्टो ‘नाङ्गो फोटो सार्वजनिक गर्दिने’ धम्की दिन थाले ।
कक्षा १० मा पढ्ने छोरीलाई पनि बोहराले गलत नियतले हेर्न थालेकोमा कल्पना रुष्ट थिइन्। टि.भि.को टेली श्रृङ्खलामा एउटा भागमा अभिनय गरेकी कल्पनाले त्यसपछि बोहोरालाई सँधैका लागि साईड लगाउने निधो गरिन ।
‘हत्याको मुख्य कारण फेसबुक ब्ल्याकमेलिङ नै हो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने– ‘छोरीलाई गलत नजर हेर्न थालेपछि कल्पनाको आक्रोश अझै बढेको देखिन्छ ।’ अन्तत, फेसबुकबाट जोडिएको कल्पना र कृष्णबहादुरको सम्बन्ध ‘फेसबुक विवाद’ कै कारण अन्त्य भयो ।