ईकोनोमिक खबर, काठमाडौँ।
गृह मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार, बिहीबार देखि लागू हुनेगरी काठमाडौँ उपत्यका लगायत २०० भन्दा बढी कोभिड–१९ सङ्क्रमित पाइएका जिल्लाहरूमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ ।
गृहले सो निर्णयलाई कडाइका साथ लागू गर्न सबै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै, दुई सयभन्दा बढी सङ्क्रमित पाइएका जिल्लामा समेत बेलुका ९ बजेदेखि बिहान पाँच बजेसम्म आवागमन बन्द गरिने भएको छ । यस्तै, कोभिड–१९ को सङ्क्रमण जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्ररस्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्न र कोरोना परीक्षणको थप व्यवस्था गर्न समेत गृहले निर्देशन दिएको छ ।
काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ ।
सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो ।
सरकारले आवागमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई निषेध गर्ने निर्णय गरेको छ ।
गृहले जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउन समेत निर्देशन दिएको छ ।
मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना गर्नेसमेत जनाइएको छ।
सरकारले अघिल्लो बिहीबारदेखि नै लागू हुने गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेक अन्य सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरेको थियो ।