संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित


ईकोनोमिक खबर, काठमाडौं। संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि बिहीबार सर्वसम्मतरुपमा पारित भएको छ । राष्ट्रिय सभा बैठकमा उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको संविधान संशोधन विधेयकको पक्षमा सबै दलका सांसदले मतदान गरेका छन् । बैठकमा उपस्थित ५७ जना सांसदले नै विधेयकको पक्षमा मतदान गरे ।

विधेयक पारित गर्न राष्ट्रियसभामा तत्काल कायम रहेको पूर्ण सदस्यको दुईतिहाइ आवश्यक पर्छ । बिहीबारको बैठकमा एक सांसद अनुपस्थित थिए । राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद भने रिक्त छ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले २०७७ साल ७ जेठमा नयाँ नक्सा जारी गरेको थियो । नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छापलाई परिमार्जन गर्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो ।

३१ जेठमा प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभामा प्रस्तुत भएको थियो । राष्ट्रियसभाबाट पारित भएसँगै बिहीबार नै राष्ट्रपतिबाट पनि प्रमाणीकरण भएको छ ।