नुवाकोटको विद्यालय भवन निर्माणमा भारतको सहयोग


ईकोनोमिक खबर, काठमाडौं।
भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवननिर्माण गरेको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन २०७६ माघ २७ गते भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो । उक्त उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित हुनुहुन्थ्यो । भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गर्नुभएको थियो ।
नेपाल सरकारको राष्ट्रिय परीक्षाबोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन् । यस विद्यालयको तीनतल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । नेपाल सरकार शिक्षामन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको हो ।