ईकोनोमिक खबर, काठमाडौं।
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महराको काठमाडाँै जिल्ला अदालतमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो।
पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा २० जना भन्दा धेरै वकिलहरुले महराको पक्षमा बहसका लागि वकालतनामा पेश गरेका छन् । महराविरुद्ध सरकारी वकिलले करणी उद्योग अन्तर्गत मुद्दाको फाइल जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा पेश गरेर आफ्नो राय राखिसकेपछि प्रतिवादीको तर्फबाट बहस शुरु भएको हो।
बहस सकिएपछि महरालाई कारागारमै राखिने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश जारी हुनेछ। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराध संहिता कानुन, २०७४ को दफा ३४ (३) बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहीबार मुद्दा दर्ता गरेको थियो। संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।