रोहिंग्या मुसलमान नरसंहारको खतरा नजिक


ईकोनोमिक खबर, काठमाण्डौं
म्यानमारमा करिब ६ लाख रोहिंग्या मुसलमान नरसंहारको गम्भिर खतरा नजिक रहेको संयुक्त राष्ट्रसंघले बताएका छन् । राष्ट्रसंघीय अनुगमन एवं अनुसन्धानकर्ताहरुले सेनाद्धारा यसअघि नै देशबाट भगाईएका लाखौं अल्पसँख्यकहरु देश फर्कने सम्भावना पनि नदेखिएको औंल्याएका छन् । राष्ट्रसंघको फ्याक्ट फाईन्डिङ्ग मिशनको एउटा रिपोर्टमा “म्यानमारले लगातार नरसंहारको सोचलाई संरक्षण गरिरहेको र रोहिंग्याह नरसंहारको खतराको सामना गरिरहेका छन्” भनिएको छ । यो रिपोर्ट संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदलाई बुझाईदैछ । मानवअधिकार परिषदको तर्फबाट गठित उक्त मिशनले म्यानमारमा २०१७ मा भएको सैन्य अभियानलाई नरसंहारको संज्ञा दिएको थियो । सेना प्रमुख मिन आंग लेइँग सहित उच्च जनरलहरुको विरुद्ध मुद्धा चलाउने समेत बताईएको थियो । सेनाको दमनकारी कारवाहीका कारण ७ लाख ४० हजार रोहिंग्या मुुसलमान भागेर बंगलादेशमा शरण लिएर बसीरहेका छन् ।