आज बिहानै देखि मुलुकभर मनसुनी वर्षा भइरहेको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिन सम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा भारी वर्षासमेत हुनेछ । मौसमविद् समीर श्रेष्ठका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ ।
निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले आज बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
लगातारको बर्षाले काठमाडौं उपत्यकालाई पनि प्रभावित बनाएको छ । काठमाडौंको बल्खु खोलामा आएको बाढीले कलंकी आसापसको क्षेत्र डुबानमा परेको छ । बाढीले कलंकस्थित महानगरीय प्रहरी वृत्त डुबानमा पर्दा प्रहरीहरु सुरक्षित ठाउँमा बस्न बाध्य भएका छन् । त्यस्तै खसी बजार क्षेत्रमा पनि बाढी पसेको छ । बाढीले एउटा ग्यास पसल नै बगाएको छ । खोलामा बगेका सिलिन्डर स्थानीयले निकालेका छन।
कुलेश्वर क्षेत्रमा डुबान भएपछि नेपाली सेनाले रबर बोट लगेर स्थानीयबासीको उद्धार गरिरहेको छ । काठमाडौं र ललितपुर जोड्ने कालोपुलमुनि रहेको ट्रकलाई बाढीले डुबाएको छ । पुलमुनिबाट हिँडिरहेको ट्रक डुबेपछि ट्रक चालकले जसोतसो ज्यान जोगाएको स्थानीयले बताएका छन् । यस्तै अविरल वर्षाका कारण उर्लिएको भक्तपुरको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । यस्तै, प्रहरी हेडक्वार्टरबाट खटिएको विपद् व्यवस्थापन टोली र काठमाडौं प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षा पछिको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रदाञ्जली र परिवाजनमा समवेदन ब्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराउनु भएको छ । सामाजिक संजाल ट्विटरमा उहाँले मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको बताउनु भएको छ । सर्लाही स्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारी बिच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले बताउनुभयो ।