चितवन । रक्तदानको महत्त्वबारे जनचेतना जगाउन ‘मिसन रेड अभियान’ ले चितवनको चौबिसकोठीमा सचेतनामूलक स्टिकर अभियान सञ्चालन गरेको छ।
जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवन लगायत विभिन्न संघसंस्थाको सहकार्यमा भएको यस अभियानमा स्थानीय र लामो दूरीका सवारीसाधनमा ६०० स्टिकर टाँसिएको हो।
रक्तदानको महत्त्वबारे जानकारी दिँदै नागरिकहरूलाई यसमा सहभागी गराउने उद्देश्यले शुरु गरिएको यस अभियानका लागि १ हजार २ सय वटा स्टिकर र १० वटा ब्यानर तयार गरिएको थियो । त्यसमध्ये ६ सय वटा स्टिकर विभिन्न सवारीसाधनमा प्रयोग गरिएको आयोजकले जनाएको छ।
मिसन रेडले डिजिटल प्लेटफर्म मार्फत पनि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराएको छ।
कार्यक्रमलाई मिसन रेडका संयोजक अर्जुन अधिकारीले अध्यक्षता गरेका थिए । वाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए, भने जनस्वास्थ्य कार्यालय चितवनका प्रतिनिधि गुरु कँडेल र रोटरी क्लब अफ चितवनका द्वितीय उपाध्यक्ष राजन पिया विशिष्ट अतिथि थिए।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि तथा अन्य सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
मिसन रेड अभियान २०८१ मा एसडी फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा शुरु भएको हो।
यस अभियानले देशभर रक्तदान कार्यक्रम र सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।