जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था आइरहेको छ : मन्त्री भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्।

शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताएका हुन्।

उनले भने,‘हिजोको चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी छ । यो भन्दा निधार खुम्च्याउनुपर्ने अरु कुरा छैन । यो साँचो कुरा हो । जबसम्म व्यक्तिले लाभ उठाउँदैन् तबसम्म वित्तिय क्षेत्रमा पनि सुधार आउँदैन् । जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने र यसको समाधानका लागि नीतिगत कुराको सुधारमा सरकार लागिरहेको छ ।

मन्त्री भण्डारीले आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको भन्दै बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् भन्दै प्रश्न गरे ।

सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र रहेको पनि उनको आरोप छ ।

उनले भने,‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन् । हामी सम्भावनालाई छोड्दै गइरहेका छौं ।’