ईकोनोमिक खबर, काठमाडौं।
आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीमार्ग काठमाण्डौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना हुनेभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदे मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताउनु भयो। ″झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने संभावना रहेको बताउनु भयो, हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं।” श्रेष्ठले पत्रकार सम्मेलनमा भन्नुभयो।
″निर्यात प्रवद्र्धन, वैदेशिक लगानीमा सहयोग पग्ने विश्वास छ, नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।” चेम्बर अफ कमर्शका मेला समिति संयोजक राष्ट्र भूषण चाकुबजीले भन्नुभयो।
यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहनेछन्। मेलाको व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ।” मेलाको व्यवस्थापक इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भन्नुभयो। मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जसमा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ। नेपालको साथै अन्य देशहरुमा भारत, चीन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रका उत्पादित सामग्रीहरू एक्स्पोमा रहनेछन्।