चितवन –भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो।
महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन् । आज देखी पाँच दिनसम्म सन्चालन हुने उक्त महोत्सवमा उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको शोभायात्रा निकालिएको थियो।
महोत्सवको आयोजकमा भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८, होटल व्यवसायी संघ चितवन, मेघौली उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समिति छन् । महोत्सवको प्रवर्धकमा भरतपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ छन्।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । थारु र कुमाल जातिको सांस्कृतिक नृत्यहरु पनि रहने छन्।
भरतपुर महानगर प्रमुख रेनु दाहालले व्यावसायिकरुपमा नाफा गर्ने उद्देश्य नराखिएको भन्दै महोत्सवमा प्रवेश निःशुल्क गरिएको जानकारी दिइन्।
उनले महोत्सवमा मञ्च निर्माण, साउण्ड सिस्टम र भरतपुरमा गेट निर्माणको खर्च महानगरले व्यहोर्ने र अन्य खर्च आयोजकहरुले नै व्यहोर्ने बताइन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भ्रमण वर्ष समापनका लागि महानगरले २० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै सोही रकमबाट केही रैथाने महोत्सवलाई निकासा गरिने बताए।
महोत्सवका संयोजक मायाराम चौधरीले महोत्सव सम्पन्न गर्न ६१ लाख ७० हजार रुपैयाँ खर्च अनुमान गरिएको जानकारी दिए।
महोत्सवमा थारु, दराई, कुमाल, मगरलगायत विभिन्न जातिका खानाका परिकार हाँस र कुखुराको मासु, घोँगी, चिचर, माछा खान पाइने बताए।
चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले कालो सुँगुरको मासु र घरेलु मदिरा पनि बिक्रीका लागि राखिने जानकारी दिए।
महोत्सवमा ५० वटा रैथाने खानाका स्टलहरु रहेका छन्।