काठमाडौं । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना हुने भएको छ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बोर्डले नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ पोखरामा पौष १४ र १५ गते दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना गर्न लागेको जानकारी दिएको हो।
ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी, सहभागी वाँकी १७ वटा समूहलाई प्रति समुह पाँच सय डलर पनि प्रदान गरिने छ।
आयोजकका अनुसार ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ। चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो।
चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ। यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको छ।
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ।
चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ ।