राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ । आयोगका माननीय अध्यक्ष तपबहादुर मगर सहितको आयोगको टोलीले शीतल निवासमा आयोजित एक कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेश गरेको हो ।
प्रतिवेदनमा समग्र देशको मानव अधिकारको अवस्था, आयोगको भूमिका, आर्थिक वर्ष २०८०\८१ मा आयोगमा परेका उजुरीहरु, उजुरीउपर भएका छानविन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरु, मानव अधिकार संरक्षण र संबर्द्धनका लागि आयोगबाट वर्षभरि भएका कार्यहरुको विवरण, आयोगबाट भएका सिफारिसहरुको कार्यान्वयनको अवस्था, आयोगको सहकार्य र समन्वय, आयोगका उपलब्धि, चुनौती तथा सम्भावित उपाय र आयोगले आगामी दिनमा चाल्नुपर्ने कदमहरुको बारेमा उल्लेख छ ।
प्रतिवेदन बुझ्दै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता लगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यताको व्यवहारिक कार्यान्वयनको आवश्यकता रहेको बताउनुभयो । प्रतिवेदन पेश गर्दै आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संस्कृति कायम गर्ने मूल उद्देश्यलाई ध्यानमा राखी मानव अधिकारको संरक्षण र संबर्द्धन गर्न आयोगले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै आइरहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा आयोगका माननीय सदस्यहरु, सचिव, सहसचिवहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।