काठमाडौँ/ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानी काठमाडौंमा सुरु भएको छ।
‘सामाजिक न्याय’ नाराका साथ मङ्सिर २४ देखि २७ गतेसम्म महोत्सव हुने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरेको महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीदेखि निर्देशक नवीन सुब्बा, दीपेन्द्र गौचनलगायत फिल्मकर्मीहरूको बाक्लो उपस्थिति थियो ।
क्रोएसियाको लघु फिल्म 'द म्यान हु कुड नट रिमेन साइलेन्ट' देखाउँदै १२औं 'नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' सुरु भएको छ ।
चलचित्र विकास बोर्डको हलमा आयोजना भएको यो महोत्सवमा विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागी भएका अधिकांश फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका छन् ।
सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको महोत्सव अध्यक्ष पाण्डव खत्रीले बताए । 'महोत्सवका लाइनअप हेर्नुभयो भने हामीले छानेका फिल्महरु विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागिता जनाएका फिल्म नै छन्,' खत्रीले भने ।
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्रान्ड जुरी फिक्सन अवार्ड जितेको फिल्म ‘अल वी इ माजिन एज लाइट’ यो महोत्सवको आकर्षण केन्द्रमा छ ।
कान्सकै सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘द म्यान हु कुडनट रिमेन साइलेन्स’, बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड विजेता ‘एन आउटरन’, बर्लिनकै जेनेरेसन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’ र ‘ओटिट’जस्ता फिल्म यो महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट डकुमेन्ट्री प्रतिस्पर्धामा ‘हाउ टू प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएका छन् ।
सामाजिक न्यायको मुख्य थिममा आयोजना हुने महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।
नेपालसहित २३ देशका ४७ फिल्म महोत्सवमा देखाइनेछन् । पाँच फरक- फरक विषयमा अन्तरक्रियात्मक छलफल देखि मास्टर क्लास पनि हुनेछ।