बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन


काठमाडौं: नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन भएका छन्।
संघको ४०औँ वार्षिक साधारणसभाले शुक्रबार रेग्मीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।
काठमाडौंमा सम्पन्न साधारणसभाबाट रेग्मीले आगामी कार्यकालका लागि संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्। यसअघि उनी संघको उपाध्यक्षका रूपमा कार्यरत थिए।
नयाँ उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन्। नयाँ नेतृत्व चयनका विषयमा पदाधिकारीहरूबीच यसअघि नै सहमति जुटेको थियो।
नेपाल बैंकर्स संघ वाणिज्य बैंकहरूको साझा संस्था हो। यसले बैंकिङ क्षेत्रका साझा समस्या, नीतिगत विषय तथा वित्तीय क्षेत्रसँग सम्बन्धित मुद्दामा बैंकहरूको प्रतिनिधित्व गर्दै आएको छ।