ललितपुर। नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन, लगानी तथा आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै दुई देशबीचको व्यापारिक, आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।
साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त चेम्बरको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। चेम्बरका निवर्तमान अध्यक्ष विजयबहादुर श्रेष्ठलाई इमिडिएट पास्ट प्रेसिडेन्टको जिम्मेवारी प्रदान गरिएको छ भने राजेश काजी श्रेष्ठलाई मानार्थ सदस्यका रूपमा सम्मान गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप लाल श्रेष्ठ तथा उपाध्यक्षमा चंकी छेत्री र सुदेश उपाध्याय निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा शिवांगी शाह, कोषाध्यक्षमा अभिषेक अग्रवाल तथा सचिवमा मनिष राजभण्डारी र सुनिता सिंह चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई निर्वाचित भएका छन्। जय देवान र डा. हरिलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ।
साधारणसभामा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटिया (Ruwanthi Delpitiya) ले नेपाल र श्रीलंकाबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रको सक्रियता र संस्थागत सहकार्य आवश्यक रहेको बताइन्। उनले दुई देशबीच व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, व्यापार मेला, प्रदर्शनी, व्यवसायीबीच प्रत्यक्ष भेटघाट (बीटुबी) तथा विभिन्न क्षेत्रगत सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
राजदूत डेल्पिटियाले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान, लगानीका सम्भावना पहिचान तथा व्यवसायीले भोगिरहेका समस्याको समाधानका लागि व्यवस्थित संस्थागत संयन्त्र विकास गर्नुपर्ने बताइन्। श्रीलंकाली दूतावासले व्यापार, लगानी, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
उनले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलंकामा आयोजना हुने ‘एक्स्पो २०२७’ मा नेपाली व्यवसायीहरूको सहभागिताका लागि आग्रह गर्दै उक्त प्रदर्शनीमा ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिइन्। उक्त प्रदर्शनीले नेपाली व्यवसायीलाई श्रीलंकाली बजारसँग जोड्ने र नयाँ व्यापारिक अवसर पहिचान गर्ने अवसर प्रदान गर्ने उनको विश्वास थियो।
त्यसैगरी, श्रीलंकाका लागि नेपालका राजदूत नियुक्त डा. मञ्चला कुमारी झाले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। सन् १९५७ मा स्थापना भएको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो।