कोप–३१ मा नेपालको प्याभिलियन उद्घाटन, जलवायु न्याय र हिमाली जोखिममा जोड


अन्ताल्या (टर्कि)। परराष्ट्रमन्त्री शिशिर खनालले कोप–३१ मा नेपालको प्याभिलियन उद्घाटन गर्दै नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षण र स्थानीयस्तरका अनुकूलन प्रयासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन्।

उद्घाटन समारोहमा मन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीमा बढ्दो जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराए। उनले हालैको जलवायुजन्य भोटेकोशी विपत्तिलाई ‘हिमालयन सुनामी’ का रूपमा उल्लेख गर्दै नेपालजस्ता अग्रपङ्क्तिका मुलुकले असमान रूपमा जलवायु संकटको मार खेपिरहेको बताए।

नेपालले सम्मेलनमार्फत जलवायु न्याय, हानि तथा क्षति कोषमा सहज पहुँच र हिमालय क्षेत्रमा जलवायु सहनशीलता बढाउन बलियो अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको सन्देश दिएको छ।

प्याभिलियनमा नेपालको जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा भइरहेका जलवायु अनुकूलनका पहलसमेत प्रदर्शन गरिएको छ। हिमालयको संरक्षण नेपालका साथै तल्लो तटीय र नदी प्रणालीमा निर्भर क्षेत्रको सुरक्षासँग जोडिएको मन्त्री खनालको भनाइ थियो।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायतले पनि सम्बोधन गरेका थिए।