ललितपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Nepal Administrative Staff College, NASC), नेपाल जनप्रशासन संघ (Public Administration Association of Nepal PAAN) र दक्षिण एसियाली सार्वजनिक प्रशासन सञ्जाल (South Asian Network for Public Administration- SANPA) को संयुक्त आयोजनामा तथा द एसिया फाउन्डेसन (The Asia Foundation) को ज्ञान साझेदारीमा आयोजित सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन २०२६ ललितपुरमा सम्पन्न भएको छ।
“दक्षिण एसियामा सार्वजनिक प्रशासनको पुनर्कल्पना: सदाचारिता, समावेशिता र राज्यको क्षमता” (Reimagining Public Administration in South Asia: Ethics, Inclusion and State Capacity) भन्ने मूल विषयमा केन्द्रित सम्मेलन २०८३ कात्तिक १८ देखि २० गते (४–६ नोभेम्बर २०२६) सम्म नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा आयोजना गरिएको थियो।
सम्मेलनमा दक्षिण एसियासहित विश्वका विभिन्न मुलुकका प्राज्ञिक व्यक्तित्व, नीतिनिर्माता, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, अनुसन्धानकर्ता तथा सार्वजनिक प्रशासनका अभ्यासकर्ताहरूको सहभागिता रहेको थियो। सम्मेलनमा करिब १५ देशका ३०० भन्दा बढी प्रतिनिधि तथा अनुसन्धानकर्ताको सहभागिता र प्राज्ञिक योगदान रहेको थियो।
सम्मेलनका प्रमुख गतिविधि
तीनदिने सम्मेलनमा करिब १४५ अनुसन्धानमूलक योगदान, ३३ वटा समानान्तर प्राविधिक सत्र र चारवटा विषयगत प्यानल मार्फत सार्वजनिक प्रशासन, सार्वजनिक नीति र शासकीय व्यवस्थाका समसामयिक विषयमा छलफल गरिएको थियो।
सम्मेलनका प्रमुख विषयगत क्षेत्रहरूमा सार्वजनिक प्रशासन र दिगो विकास लक्ष्य, अतिकम विकसित मुलुकबाट स्तरोन्नति तथा संक्रमणकालीन अर्थतन्त्रमा सार्वजनिक प्रशासन, सदाचारितामा आधारित शासन र सार्वजनिक विश्वास, नागरिककेन्द्रित शासन तथा सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासनको आधुनिकीकरण र राज्यको क्षमता तथा जलवायु परिवर्तन, दिगोपन र समावेशी शासन रहेका थिए।
दुईवटा प्रमुख पूर्ण सत्रमा “दक्षताका लागि मात्र होइन, नागरिकका लागि राज्यको आधुनिकीकरण” र “दक्षिण एसियामा जलवायु न्याय र सार्वजनिक नीति: समावेशिता तथा उत्थानशीलताका लागि शासन” विषयमा गहन छलफल भएको थियो।
सम्मेलनका प्रमुख सन्देश र सिकाइ
सार्वजनिक प्रशासन सुधारको सफलता संस्थागत दक्षता वा प्रविधिको प्रयोगबाट मात्र नभई नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तर, पहुँच, निष्पक्षता, सार्वजनिक विश्वास र जीवनस्तरमा हुने सुधारबाट मूल्याङ्कन गरिनुपर्ने विषय सम्मेलनका छलफलमा प्रमुख रूपमा उठेको थियो।
जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, आप्रवासन, सामाजिक सुरक्षा तथा बढ्दो असमानताजस्ता विषय दक्षिण एसियाली मुलुकका साझा चुनौतीका रूपमा रहेको र यिनको सम्बोधनका लागि क्षेत्रीय सहकार्य, तुलनात्मक अध्ययन तथा अनुभव आदानप्रदानलाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
सम्मेलनले प्राज्ञिक अनुसन्धान, राजनीतिक नेतृत्व, नीतिनिर्माण तथा प्रशासनिक अभ्यासबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने महत्त्वसमेत उजागर गरेको छ।
दक्षिण एसियाली सार्वजनिक प्रशासनको प्राज्ञिक सहकार्यमा योगदान
यो सम्मेलन दक्षिण एसियाली सार्वजनिक प्रशासन सञ्जाल (SANPA) को सम्मेलन शृङ्खलाअन्तर्गत आयोजित तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो। यसअघि पहिलो सम्मेलन सन् २०२४ मा बंगलादेशको ढाका र दोस्रो सम्मेलन सन् २०२५ मा पाकिस्तानको लाहोरमा आयोजना गरिएको थियो।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले पनि सन् २०१७ देखि दक्षिण एसियामा सार्वजनिक नीति तथा शासकीय व्यवस्था सम्मेलन आयोजना गर्दै आएको छ। यस शृङ्खलाअन्तर्गत प्रतिष्ठानले यसअघि छवटा सम्मेलन सम्पन्न गरिसकेको छ।
सम्मेलनका छलफलहरूले दक्षिण एसियालाई अन्य क्षेत्रका अनुसन्धानका लागि अध्ययनस्थलका रूपमा मात्र सीमित नराखी विश्वव्यापी सार्वजनिक प्रशासनसम्बन्धी ज्ञान र सिद्धान्त विकासमा सक्रिय योगदान पुर्याउने क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने आवश्यकतालाई पनि उजागर गरेका छन्।
आगामी कार्यदिशा
भविष्यमा संयुक्त अनुसन्धान, तुलनात्मक अध्ययन, प्राज्ञिक प्रकाशन, शिक्षण सामग्री तथा केस अध्ययनको विकास, प्राध्यापक तथा अनुसन्धानकर्ता आदानप्रदान र सार्वजनिक प्रशासनको व्यावसायिक सिकाइमा संस्थागत सहकार्य विस्तार गर्ने अवसरहरू औँल्याइएका छन्।
सम्मेलनबाट प्राप्त विचार, अनुभव र सिकाइलाई अनुसन्धान, सार्वजनिक नीति निर्माण, प्रशासनिक सुधार तथा क्षमता विकासका आगामी प्रयासहरूसँग जोड्न सकेमा यस प्रकारका क्षेत्रीय प्राज्ञिक सहकार्यको प्रभाव अझ व्यापक हुने अपेक्षा गरिएको छ।
आयोजक संस्थाहरूले सम्मेलनमा सहभागी सम्पूर्ण प्राज्ञिक व्यक्तित्व, अतिथि, अनुसन्धानकर्ता, वक्ता, सत्र अध्यक्ष, सहजकर्ता, प्रतिनिधि तथा सम्मेलनको सफल आयोजनामा योगदान पुर्याउने आयोजक समिति, स्वयंसेवक र सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेका छन्।
