तिहारअघि एनआरबीले सुनका असर्फी र चाँदीका लक्ष्मी–गणेश मेडालियन बिक्री गर्ने


काठमाडौं। नेपाल राष्ट्र बैंक (एनआरबी) ले तिहार तथा लक्ष्मीपूजालाई लक्षित गर्दै सुनका असर्फी र चाँदीका लक्ष्मी–गणेश अंकित मेडालियन बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले बाबरमहलस्थित कार्यालयबाट आगामी कात्तिक १९ र २० गते विशेष बिक्री गर्ने जनाएको छ।

महाशाखाका अनुसार प्रत्येक ग्राहकले २५ ग्रामको एक थान सुनको असर्फी खरिद गर्न सक्नेछन्। त्यस्तै, लक्ष्मी र गणेशको तस्बिर अंकित १०–१० ग्रामका बढीमा दुई थान चाँदीका मेडालियन खरिद गर्न पाइनेछ।

तिहारको महत्वपूर्ण पर्व लक्ष्मीपूजाका अवसरमा भक्तजनहरूले धन, समृद्धि र सौभाग्यको कामना गर्दै घरमा लक्ष्मी र गणेशको पूजा गर्ने परम्परा छ। यस अवसरमा सुनका असर्फी तथा लक्ष्मी–गणेश अंकित चाँदीका मेडालियन पूजा सामग्रीका रूपमा प्रयोग गरिन्छ।

राष्ट्र बैंकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गर्ने जनाएको छ। उपलब्ध मौज्दात रहेसम्म मात्रै बिक्री गरिनेछ।

खरिद गर्न चाहने व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर उल्लेख भएको अन्य कुनै वैध परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

सुनका असर्फी तथा चाँदीका मेडालियन खरिद गर्दा नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

तिहारअघि धार्मिक तथा परम्परागत प्रयोजनका लागि सुन र चाँदीका विशेष सामग्री खरिद गर्ने ग्राहकको चासो बढ्ने भएकाले राष्ट्र बैंकले सीमित परिमाणमा बिक्रीको व्यवस्था गरेको हो।