जीवन बीमा व्यवसाय १५ प्रतिशतले बढ्यो, दुई महिनामै चालिस अर्ब संकलन


काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १५.०१ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउन र भदौमा कुल ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।

कुल बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स १० अर्ब ५८ करोड आठ लाख रुपैयाँसहित पहिलो स्थानमा रहेको छ। कम्पनीको व्यवसाय गत वर्षको तुलनामा ९.२७ प्रतिशतले बढेको हो।

नेशनल लाइफ ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ। कम्पनीको व्यवसाय २१.९९ प्रतिशतले बढेको छ। राष्ट्रिय जीवन बीमा कम्पनी ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।

त्यस्तै, एलआईसी नेपालले ३ अर्ब ६७ करोड ८५ लाख, हिमालयन लाइफले ३ अर्ब ५९ करोड १९ लाख, सूर्यज्योति लाइफले २ अर्ब ४६ करोड ६८ लाख र एसियन लाइफले एक अर्ब ८२ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन्।

सिटिजन लाइफले एक अर्ब ६९ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १३.२१ प्रतिशतले बढी हो।

समग्रमा पहिलो दुई महिनाको तथ्याङ्कले जीवन बीमा व्यवसाय विस्तारको क्रम कायम रहेको देखाएको छ।