सरकारले हटायो आईजीपी, मनोज केसी भए नियुक्त


 काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सारेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको भूमिकामा राखिने भएको छ।

सरकारले कार्कीको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

पछिल्ला केही विवादास्पद घटनाक्रममा आईजीपी कार्कीको भूमिकामाथि प्रश्न उठेपछि सरकारले उनलाई प्रहरी नेतृत्वबाट हटाउने निर्णय गरेको स्रोतहरूले बताएका छन्। प्रत्यक्ष रूपमा बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत पठाउने विकल्प रोजेको बताइएको छ।

कार्कीलाई गत वर्ष कात्तिक २४ गते सुशीला कार्की नेतृत्वको सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका थिए।

यसअघि २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनले काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड सम्हालेका थिए।

करिब एक वर्षको कार्यकालमा कार्कीको नेतृत्व विभिन्न विवादबाट मुक्त रहन सकेन। उनीमाथि निर्वाचन सुरक्षाका लागि प्रयोग हुने प्रहरी पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको थियो। त्यस्तै, प्रहरीको कमाण्ड तथा नियन्त्रण प्रणाली प्रभावकारी हुन नसकेको भन्दै पनि सरकारभित्र उनको नेतृत्वमाथि प्रश्न उठेको बताइएको छ।

सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा आएको परिवर्तनले सुरक्षा संगठनभित्रको कमाण्ड संरचना र आगामी प्राथमिकताबारे चासो बढाएको छ। नयाँ आईजीपीका रूपमा नियुक्त मनोज केसीले संगठनको नेतृत्व सम्हाल्नेछन्।