रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगरको दुई रनको जित


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा सीमित भयो।

अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा जनकपुर लक्ष्यभन्दा तीन रन टाढा रहँदा विराटनगरले जित आफ्नो पक्षमा पारेको हो।

जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। विशाल सुसलिङले ३० बलमा ४३ रन जोड्दा जेम्स निसमले १५ बलमा आक्रामक २७ रन बनाए। तर, उनीहरूको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन।

विराटनगरका बलर आन्द्रे रसेलले चार विकेट लिएर जनकपुरको रन गति नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेले। एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो।

विराटनगरका इमरान शेखले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन जोड्दै टोलीको योगफल उकासे। उनले दुई चौका र पाँच छक्का प्रहार गरे।

त्यस्तै लोकेश बमले ४० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५० रन बनाए। शुभम रञ्जाने पाँच बलमा सात रन जोड्दै अविजित रहे।

जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।

यस जितसँगै चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। जनकपुरले पनि चार खेलबाट समान दुई जित र दुई हारसहित चार अंक नै बनाएको छ।

दुई टोलीको अंक बराबर रहे पनि विराटनगरले यस खेलबाट महत्त्वपूर्ण जित हासिल गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी कायम राखेको छ।