भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु, स्वदेशी नर्सरी उत्पादनको प्रवर्द्धनमा जोड


काठमाडौं। स्वदेशी पुष्प तथा नर्सरी व्यवसायको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ।

नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा सुरु भएको एक्स्पोको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन्।

एक्स्पोमा पुष्प, फलफूल, कृषि तथा वनजन्य बिरुवा र जडीबुटी नर्सरीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। विभिन्न विधाका नर्सरी उत्पादनलाई एउटै छानामुनि ल्याएर उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने आयोजकको उद्देश्य छ।

कार्तिक २१ गतेसम्म सञ्चालन हुने एक्स्पोले तिहारको समयमा फूल तथा बिरुवाको बढ्दो मागलाई स्वदेशी उत्पादनमार्फत सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालको पुष्प तथा नर्सरी व्यवसायमा उत्पादन विविधीकरण, गुणस्तर सुधार, बजार विस्तार र व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि पनि एक्स्पो उपयोगी हुने विश्वास आयोजकले लिएको छ।

स्वदेशी उत्पादनको प्रदर्शनी र बिक्रीमा सीमित नरही नर्सरी व्यवसायका सम्भावना, चुनौती तथा बजार विस्तारका अवसर पहिचान गर्ने माध्यमका रूपमा समेत एक्स्पोलाई हेरिएको छ।