सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई वटा हेलिकोप्टर दुर्घटनामा परेका छन्। दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु भएका विदेशी नागरिकको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर दुर्घटनाग्रस्त भएका हुन्।
दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धार तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र दुवै हेलिकोप्टरमा सवार यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे थप विवरण आउन बाँकी छ।