काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच जलवायु वित्त परिचालन तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीका विषयमा छलफल भएको छ।
दुई मन्त्रीबीच भएको भेटवार्तामा हरित जलवायु कोष (GCF), अनुकूलन कोष (Adaptation Fund), कार्बन वित्त तथा अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तारका विषयमा छलफल भएको हो।
नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन क्षमता अभिवृद्धि तथा जलवायुजन्य विपद्बाट भएको हानि र नोक्सानी सम्बोधन गर्न अन्तर्राष्ट्रिय स्रोत परिचालनलाई प्रभावकारी बनाउनुपर्ने विषयमा दुवै मन्त्रीले जोड दिएका छन्।
भेटवार्तामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने तथा जलवायु वित्तमा नेपालको पहुँच बढाउने विषयलाई प्राथमिकतामा राखिएको थियो।
विशेषगरी जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र हानि तथा नोक्सानीसम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत जुटाउने विषयमा छलफल भएको जनाइएको छ।
त्यसैगरी, आगामी कोप–३१ मा नेपालको जलवायु प्राथमिकता, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिबद्धतासम्बन्धी विषय प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारीबारे पनि कुराकानी भएको छ।
जलवायु वित्त परिचालनका लागि कृषि, वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयबीच आपसी समन्वय, सहकार्य तथा स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको छ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहे पनि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच, परियोजना तयारी र स्रोत परिचालनमा विभिन्न चुनौती सामना गर्दै आएको छ। यस्तो अवस्थामा जलवायु वित्तलाई राष्ट्रिय बजेट तथा विकास योजनासँग जोड्दै अनुकूलन र विपद् व्यवस्थापनका कार्यक्रममा परिचालन गर्नु महत्त्वपूर्ण मानिन्छ।
दुई मन्त्रालयबीचको समन्वयले अन्तर्राष्ट्रिय जलवायु वित्तका अवसर उपयोग गर्न, परियोजनाको प्रभावकारी तयारी गर्न र कोप–३१ मा नेपालको वार्तागत प्राथमिकता सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।