खर्च घटाउने रणनीतिमा एनआईसी एसिया, थप ७ शाखा समायोजनको तयारी


काठमाडौं। खर्च कटौती गर्दै वित्तीय अवस्था सुधार गर्ने रणनीतिअन्तर्गत एनआईसी एसिया बैंकले थप सातवटा शाखा कार्यालय बन्द गर्ने तयारी गरेको छ। बैंकले विभिन्न स्थानमा रहेका शाखालाई नजिकका अन्य शाखामा समायोजन गर्न लागेको हो।

गत वैशाखमा एकैपटक ४४ वटा शाखा कार्यालय बन्द गरेको बैंकले पुनः सातवटा शाखा बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। पछिल्लो समय बैंकले शाखा सञ्जाल पुनर्संरचना गर्दै सञ्चालन खर्च घटाउने रणनीतिलाई तीव्रता दिएको देखिन्छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खर्च व्यवस्थापन गर्न र आवश्यकताअनुसार शाखा समायोजन गर्न नीतिगत सहजीकरण गरेपछि एनआईसी एसियाले पनि त्यसको उपयोग गर्दै शाखा बन्द गर्ने क्रम बढाएको हो। बैंकले पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी शाखा कार्यालय बन्द गरिसकेको छ।

बैंकले बन्द गर्न लागेका सात शाखामध्ये काठमाडौंको ठूलोभर्याङ, रुपन्देहीका राममन्दिर बुटवल, देवीनगर र देवकोटा चोक, झापाको फाल्गुनन्द चोक तथा भक्तपुरका ट्याङ्लाफाँट र पुरानो ठिमी शाखा रहेका छन्।

यी शाखाबाट प्रदान हुँदै आएका बैंकिङ सेवा नजिकैका अन्य शाखामार्फत उपलब्ध गराउने गरी समायोजन गरिने बैंकको तयारी छ।

शाखा संख्या घटाएर सञ्चालन खर्च नियन्त्रण गर्ने र वित्तीय अवस्थामा सुधार ल्याउने उद्देश्यसहित बैंकले पुनर्संरचनाको प्रक्रिया अघि बढाएको हो।