इनर्जी ड्रिङ्क सेवनमा सतर्कता अपनाउन विभागको आग्रह,


 काठमाडौं । इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण तथा सेवनमा सावधानी अपनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता, उत्पादक र विक्रेतालाई आग्रह गरेको छ। पेय पदार्थमा पाइने क्याफिनको मात्रा र यसले स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै विभागले यस्तो अनुरोध गरेको हो।

विभागका अनुसार इनर्जी ड्रिङ्कमा क्याफिनसँगै ग्वाराना, टाउरिन, इनोसिटोल, कार्निटिन, बी भिटामिन, चिनी र पानीलगायतका पदार्थ मिसाइएको हुन्छ। चिया, कफी, चकलेट तथा अन्य पेय पदार्थबाट समेत शरीरमा क्याफिन पुग्ने भएकाले दैनिक सेवनको कुल मात्रा ख्याल गर्नुपर्ने विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय अध्ययन तथा नियामक निकायका सन्दर्भ उल्लेख गर्दै विभागले स्वस्थ वयस्कले सबै स्रोतबाट दैनिक ४०० मिलिग्रामभन्दा बढी क्याफिन सेवन नगर्ने आधार प्रस्तुत गरेको छ। यद्यपि, उक्त मात्रा सबै व्यक्तिका लागि समान रूपमा सुरक्षित नहुन सक्ने भएकाले व्यक्तिगत स्वास्थ्य अवस्थाअनुसार सावधानी अपनाउनुपर्ने देखिन्छ।

विभागका अनुसार नेपालमा इनर्जी ड्रिङ्क उत्पादन तथा बिक्रीवितरण गर्ने १७ वटा उद्योगले सरकारी निकायबाट अनुमति लिएका छन्। ती उद्योगका उत्पादनको लेबल विवरण तथा प्रयोगशाला परीक्षण प्रतिवेदनमा क्याफिनको मात्रा मानव उपभोगका लागि निर्धारित सुरक्षित सीमाभित्र रहेको पाइएको विभागको भनाइ छ।

विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ। विभागले इनर्जी ड्रिंक्सलाई पानी,जुस,दूध,मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ।

त्यस्तै,उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न आग्रह गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी विषयमा जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

Screenshot