कोजाग्रत पूर्णिमासँगै दसैँ सम्पन्न, महालक्ष्मीको पूजा र जाग्राम बस्ने परम्परा


काठमाडौं। बडादसैँको धार्मिक विधि र परम्परालाई पूर्णता दिँदै आइतबार कोजाग्रत पूर्णिमा मनाइएको छ। धन, धान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परासहित यस वर्षको १५ दिन लामो दसैँ पर्व समापन भएको छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष कोजाग्रत पूर्णिमासँगै समाप्त भएको हो। विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम भने कोजाग्रत पूर्णिमासँगै अन्त्य भएको छ। आइतबार घरघरमा महालक्ष्मीको पूजा आराधना गर्नुका साथै कतिपयले जमरा नजिकका नदी, तलाउ तथा पोखरीमा विसर्जन गरेका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रीय विधिअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आइतबार नै सम्पन्न भएको छ।

महालक्ष्मी घरमा प्रवेश गर्ने धार्मिक विश्वास

कोजाग्रत पूर्णिमामा रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गरे धन, ऐश्वर्य र सम्पन्नता प्राप्त हुने धार्मिक विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार यस दिन साँझ महालक्ष्मीको पूजा गरी जाग्राम बस्ने परम्परा रहिआएको छ। धार्मिक मान्यताअनुसार पृथ्वी भ्रमणमा निस्किएकी महालक्ष्मी जाग्राम बसेका मानिसका घरमा प्रवेश गरी धनधान्य र ऐश्वर्य प्रदान गर्छिन् भन्ने विश्वासका आधारमा यो पर्व मनाइन्छ।

माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको आराधना गरी दुर्गा पक्षलाई बिदाइ गरिने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको छ।

विजयादशमी र कोजाग्रत पूर्णिमाको फरक

नवरात्रको समापन विजयादशमीका दिन भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म रहने धार्मिक परम्परा छ। त्यसैले टीका र जमरा लगाउने मुख्य विधि सकिएपछि पनि कोजाग्रत पूर्णिमाले दसैँको धार्मिक चक्रलाई पूर्णता दिन्छ।

लक्ष्मीपूजाभन्दा १५ दिनअघि नै महालक्ष्मीको आराधना गरिने यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार देवराज इन्द्रको समेत पूजा गर्ने परम्परा रहेको अध्यक्ष भट्टराईले बताएका छन्।

कोजाग्रत पूर्णिमाका अवसरमा राति जुवा खेल्ने परम्परा पनि शास्त्रीय विधानमा उल्लेख रहेको उनले जानकारी दिए।

धार्मिक आस्था र पारिवारिक मिलनको पर्व

दसैँ अवधिभर नेपालीले आ–आफ्नो क्षमता र परम्पराअनुसार पर्व मनाएका छन्। विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने, परिवार तथा आफन्तसँग भेटघाट गर्ने र धार्मिक अनुष्ठानमा सहभागी हुने क्रम कोजाग्रत पूर्णिमासँगै औपचारिक रूपमा टुंगिएको छ।

यससँगै दुर्गा पक्षका धार्मिक अनुष्ठान पूरा भएका छन् भने अब नेपाली समाज तिहारलगायतका आगामी पर्वको तयारीमा जुट्नेछ।