काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।
वीर अस्पतालको न्युरो सर्जरी विभाग र अमेरिकाको भर्जिनिया राज्यस्थित कारिलियन हस्पिटलको सहकार्यमा आगामी कात्तिक १० देखि १२ गतेसम्म विशेष क्लिनिक सञ्चालन गर्न लागिएको हो। अस्पतालका अनुसार परीक्षणपछि शल्यक्रिया आवश्यक देखिएका बिरामीका लागि कात्तिक १६ देखि २० गतेसम्म शल्यक्रिया गर्ने सम्भावित मिति निर्धारण गरिएको छ।
अस्पतालले जारी गरेको सूचनाअनुसार मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, औषधि उपचारबाट नियन्त्रणमा आउन नसकेको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी तेस्रो विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
क्लिनिकमा डीप ब्रेन स्टिमुलेसन (डीबीएस), स्पाइनल कर्ड स्टिमुलेसन तथा भेगस नर्भ स्टिमुलेसनलगायतका विशेष उपचार विधिका लागि बिरामीको परीक्षण र मूल्यांकन गरिने अस्पतालले जनाएको छ। परीक्षणका आधारमा उपयुक्त उपचार विधि तथा शल्यक्रियाको आवश्यकताबारे निर्णय गरिनेछ।
पार्किन्सन रोग तथा अन्य मुभमेन्ट डिसअर्डरका कारण शरीरको चाल र मांसपेशीको नियन्त्रणमा समस्या भएका, डिस्टोनियाबाट प्रभावित तथा औषधिले नियन्त्रण गर्न नसकिएको छारे रोगका बिरामीलाई यस्ता विशेष उपचार विधिले सहयोग पुर्याउन सक्छन्। त्यस्तै, मेरुदण्डसम्बन्धी केही समस्यामा पनि बिरामीको अवस्था र चिकित्सकीय मूल्यांकनका आधारमा विशेष उपचार विधि अपनाउन सकिन्छ।
अस्पतालले सम्बन्धित समस्याबाट पीडित बिरामीलाई समयमै न्युरो सर्जरी विभागमा सम्पर्क गरी अग्रिम नाम दर्ता गराउन अनुरोध गरेको छ।
विशेष क्लिनिकमार्फत जटिल स्नायु तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञबाट परीक्षण, उपचारको मूल्यांकन र आवश्यकताअनुसार शल्यक्रियाको अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ।