नेपालको पर्यटन प्रवर्द्धन, नेपाल–भारत पर्यटन सम्बन्धको सुदृढीकरण तथा भारतीय पर्यटन बजारमा नेपालको पहिचान विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा अक्टोबर २५ देखि २८, २०२६ सम्म सञ्चालन हुने कार्यक्रमको नारा ‘Connecting Borders, Building Friendships, Growing Tourism’ रहेको छ।
कार्यक्रममा भारतको लखनऊ, कानपुर, दिल्ली, छत्तीसगढलगायतका क्षेत्रबाट पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित २४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने आयोजकले जनाएका छन्। प्रतिनिधिमण्डलले नेपालका प्रमुख पर्यटकीय गन्तव्य, होटल तथा रिसोर्टका सेवा–सुविधा र पर्यटन व्यवसायका सम्भावनाबारे अवलोकन गर्नेछ।
नेपाली र भारतीय पर्यटन व्यवसायीबीच व्यावसायिक सहकार्य
कार्यक्रमको मुख्य उद्देश्य नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापना गर्नु, संयुक्त पर्यटन प्याकेज विकास गर्नु तथा दुवै देशका पर्यटन व्यवसायीका लागि नयाँ बजार र अवसर सिर्जना गर्नु रहेको छ।
यसअन्तर्गत विभिन्न होटल तथा रिसोर्टमा व्यवसायी–व्यवसायी (बीटुबी) बैठक, पर्यटन उत्पादनको प्रस्तुतीकरण, अवलोकन भ्रमण (फ्याम ट्रिप) तथा व्यावसायिक नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।
निर्धारित कार्यतालिकाअनुसार अक्टोबर २५ को साँझ नवलपरासीको अमलटारीस्थित थारु गाउँ रिसोर्टमा व्यावसायिक बैठक हुनेछ। अक्टोबर २६ को बिहान गैँडाकोटस्थित आईएलए होटल्स एन्ड रिसोर्ट्स र दिउँसो चितवनको सौराहास्थित बनबास रिसोर्टमा व्यावसायिक भेटघाट आयोजना गरिनेछ। सोही दिन साँझ नवलपरासीको दण्डास्थित मिरायामा कार्यक्रम सञ्चालन हुनेछ।
त्यसैगरी, अक्टोबर २७ को बिहान सोल्टी वेस्ट पाटयानी तथा साँझ चितवनको शक्तिखोरस्थित लटौली सेन्चुरीमा व्यावसायिक बैठक र नेटवर्किङ कार्यक्रम हुनेछ। अक्टोबर २८ को बिहान लटौली सेन्चुरीमा थप व्यावसायिक छलफल तथा कार्यक्रमका गतिविधि सञ्चालन गरिने आयोजकले बताएका छन्।
लुम्बिनीदेखि चितवनसम्म एकीकृत पर्यटन प्याकेजको लक्ष्य
कार्यक्रमले नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटन गन्तव्यलाई एउटै पर्यटन सञ्जालमा जोड्ने लक्ष्य राखेको छ। लुम्बिनी, प्राचीन कपिलवस्तु, तिलौराकोट, देवदह तथा रामग्राम स्तूपजस्ता ऐतिहासिक र धार्मिक स्थललाई चितवनको सौराहा, नारायणी नदी तटीय क्षेत्र तथा पोखरा र काठमाडौंका प्रमुख पर्यटकीय गन्तव्यसँग जोडेर बहुदिवसीय पर्यटन प्याकेज विकास गर्ने योजना छ।
नेपालको आध्यात्मिक पर्यटन, वन्यजन्तु अवलोकन, प्राकृतिक सौन्दर्य, साहसिक गतिविधि, स्थानीय संस्कृति तथा आतिथ्य सेवालाई भारतीय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सके भारतीय पर्यटकको नेपाल बसाइ अवधि बढाउन र स्थानीय होटल, रिसोर्ट तथा पर्यटन व्यवसायको आम्दानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसका साथै नियमित पर्यटक आवागमनका लागि व्यावसायिक साझेदारी विकास गर्ने, संयुक्त पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाउने र सीमापार पर्यटन सहकार्यलाई संस्थागत गर्ने उद्देश्यसमेत कार्यक्रमले लिएको छ।
विभिन्न पर्यटन निकायको सहकार्य
कार्यक्रम नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्याप्टर, होटल एसोसिएसन अफ नेपाल (हान), नवलपुर पर्यटन समिति, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डिया, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटी, भरतपुर महानगरपालिकासहित विभिन्न स्थानीय तह तथा पर्यटनसम्बन्धी संघ–संस्थाको समन्वय र सहकार्यमा सञ्चालन गरिने जनाइएको छ।
कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायतका स्थानीय तहको सहकार्यले धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका क्रममा भारतीय ट्राभल एजेन्सी, टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक र सञ्चारकर्मीलाई नेपालको पर्यटन उत्पादनबारे जानकारी गराइनेछ। स्थानीय होटल तथा रिसोर्टका सेवा–सुविधाको प्रत्यक्ष अवलोकन, पर्यटन उत्पादनको प्रस्तुतीकरण तथा सम्भावित व्यावसायिक सम्झौता र सहकार्यका विषयमा छलफल गरिनेछ।
भारतीय बजारमा नेपालको पर्यटन पहिचान विस्तार गर्ने लक्ष्य
कार्यक्रमका संयोजक तथा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोम नाथ सापकोटाका अनुसार भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धनका लागि पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध स्थापना, गन्तव्यहरूको एकीकृत प्याकेज विकास र निजी क्षेत्रबीचको सहकार्य आवश्यक छ।
नेपाल र भारतबीचको भौगोलिक निकटता, सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था तथा सहज आवागमनको सम्भावनालाई उपयोग गर्दै दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन साझेदारी निर्माण गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास आयोजकले लिएका छन्।
कार्यक्रमबाट पहिचान हुने व्यावसायिक सम्भावनालाई आगामी दिनमा नियमित पर्यटन सहकार्य, संयुक्त प्रवर्द्धन र पर्यटक आवागमन वृद्धिका गतिविधिमा रूपान्तरण गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन्।
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ ले नेपालको पर्यटन बजार विस्तार, भारतीय पर्यटकको आगमन वृद्धि, स्थानीय पर्यटन व्यवसायको प्रवर्द्धन तथा दुई देशबीचको पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।