नेपाली गहना व्यवसाय अब डिजिटल प्रणालीमा, ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक


काठमाडौं । परम्परागत शैलीमा सञ्चालन हुँदै आएको नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरिएको छ। मातृका टेक्नोलोजीले विकास गरेको यो सफ्टवेयरले गहना पसलको बिक्री, लेखा, मौज्दातदेखि कालिगढ व्यवस्थापनसम्मका कामलाई एउटै डिजिटल प्रणालीमा समेट्ने लक्ष्य राखेको छ।

कम्पनीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममार्फत नयाँ सफ्टवेयर सार्वजनिक गरेको हो। मातृका टेक्नोलोजीले विगत आठ वर्षदेखि नेपाली गहना व्यवसायलाई ‘जे–ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा दिँदै आएको छ।

पुस्तौँदेखि सीप, मौलिक डिजाइन र सांस्कृतिक परम्परामा आधारित नेपाली गहना व्यवसाय बजार विस्तारसँगै व्यवस्थापनका नयाँ चुनौतीबाट गुज्रिरहेको छ। कारोबारको हिसाबकिताब, स्टकको अभिलेख, ग्राहक विवरण र कालिगढको काम व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले नेपाली गहना व्यवसायको कार्यशैलीअनुसार ‘जेजे लाइट’ तयार पारिएको कम्पनीले जनाएको छ।

एउटै प्रणालीमा कारोबारदेखि लेखासम्म

सफ्टवेयरमा बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, स्टक विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन र व्यावसायिक कागजात व्यवस्थापनका सुविधा समावेश छन्। यसले पसलको दैनिक कारोबारलाई व्यवस्थित गर्नुका साथै विवरण अभिलेखीकरण र व्यावसायिक व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) मा आधारित लेखा व्यवस्थापन सुविधा पनि सफ्टवेयरमा राखिएको कम्पनीले जनाएको छ। यसले गहना व्यवसायको वित्तीय विवरणलाई व्यवस्थित रूपमा राख्न सहयोग गर्नेछ।

कम्प्युटरदेखि मोबाइल र ट्याबलेटसम्म प्रयोग गर्न सकिने

‘जेजे लाइट’ कम्प्युटर, मोबाइल र ट्याबलेटबाट नेपाली तथा अंग्रेजी दुवै भाषामा सञ्चालन गर्न सकिन्छ। विभिन्न उपकरणबाट प्रयोग गर्न मिल्ने सुविधाले व्यवसायीलाई कारोबारको विवरण हेर्न र दैनिक व्यवस्थापन गर्न थप सहज बनाउने लक्ष्य राखेको छ।

नेपाली गहना व्यवसायको परम्परागत कार्यशैलीलाई डिजिटल प्रणालीसँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिएको यो सफ्टवेयरले व्यवसायको अभिलेख, लेखा र सञ्चालन प्रक्रियालाई थप व्यवस्थित बनाउन कत्तिको प्रभावकारी भूमिका खेल्छ भन्ने कुरा यसको व्यावहारिक प्रयोग र व्यवसायीको अपनत्वले निर्धारण गर्नेछ।