काठमाडौं।
एभीएम टेबलटेनिस क्लबकाद्वय रुविन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन् । यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गल्र्समा इभानाले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोश्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेश्रो भए। यु–२१ गल्र्स सिंगल्समा एभीएमकी वियंका राई दोश्रो तथा एभीएमकै आस्मा पहरी र साइरा शाक्य तेश्रो   बने ।
नेपाल टेबलटेनिस प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पिन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कांस्य जिते ।

दुईदिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गल्र्स सिंगल्समा साइरा शाक्य तथा यु–१३ ब्वाइज सिंगल्समा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतले पुरस्कृत गरे । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको थियो ।