नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट टुको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएकी छन् । सर्किट– १ मा पनि शिभाली पहिलो भएकी थिइन् ।
नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा शिभालीले अइसथ करिन सइजनलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् ।
ब्वाइज सिंगल्समा न्युजिल्यान्डका ज्याक्स रुप र भारतका तनिस नन्दा फाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कोर्टमा ज्याक्सले सर्किट– १ का विजेता अभि अग्रवाललाई ६–२ र ६–० को सोझो सेटमा हराए । अर्को सेमिफाइनलमा तनिसले वृजेश अर्याललाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए ।
शुभश्रीलाई स्वर्ण
काठमाडौं २ की शुभश्री श्रेष्ठले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा शुभश्रीले कञ्चन्पुर ५ की महिमा महतालाई ११–५, ११–३ र ११–१ को सोझो सेटमा पराजित गरिन् ।
खुलातर्फ पुरुष सिंगल्समा बालकोटगढी ८ का गनन्जय दाहाल र ललितपुर १६ का संयोग कपाली फाइनलमा पुगे । गनन्जयले भक्तपुर ५ का राजीव चिकञ्वन्जारलाई ११–५, ११–९ र ११–९ तथा संयोगले सिन्धुपाल्चोक ६ का सुजन गडाललाई ११–६, ११–६ र ११–६ को सोझो सेटमा हराए । सोही स्पर्धाको गल्र्समा काठमाडौं २ की रविना महर्जनले सोही वडाकी सुस्मिता खड्कालाई ११–६, १५–१३ र ११–५ तथा संखुवासभा ४ की वियंका राईले कीर्तिपुर ६ की योङगी पौडेललाई ७–११, ११–८, ९–११, ११–५ र ११–८ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान बनाए ।