माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष


पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। असोज २८ गते पोखरामा सम्पन्न सभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

साधारणसभाले संस्थापक सेयरधनी समूहबाट रोशन केसी, मुकुन्द महत र कृति महतोलाई सञ्चालकमा निर्वाचित गरेको छ। सर्वसाधारण सेयरधनी समूहबाट विश्वप्रकाश गौतम सञ्चालक निर्वाचित भएका छन्।

साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले केसीलाई थप चार वर्षका लागि अध्यक्षमा पुनः नियुक्त गरेको बैंकले जनाएको छ।

बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ कायम हुनेछ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ १७ पैसा रहेको थियो। साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।