ओमोडा ५ का ८,८७८ गाडी रिकल, नेपालमा बिक्री भएका ओमोडा ई५ को सुरक्षा जाँचबारे प्रश्न


“गुडिरहेको गाडीको पछाडिको एक्सेल छुट्टिएपछि मलेसियामा चेरीको रिकल अभियान, नेपालमा पनि आयात भएका गाडीको सुरक्षा अवस्था स्पष्ट पार्नुपर्ने आवश्यकता छ।”

काठमाडौं । गुडिरहेको अवस्थामा गाडीको पछाडिको एक्सेल र पाङ्ग्रा नै छुट्टिने घटना भएपछि चिनियाँ सवारी उत्पादक चेरीले मलेसियामा ८ हजार ८७८ वटा ओमोडा ५ एसयूभी फिर्ता बोलाउने भएको छ।

पछाडिको एक्सेलमा प्रयोग भएका वेल्डिङ जोड कमजोर हुन सक्ने देखिएपछि कम्पनीले प्रभावित गाडीको निरीक्षण र आवश्यक पार्टपुर्जा निःशुल्क प्रतिस्थापन गर्ने घोषणा गरेको हो।

मलेसियाको जोहोर बाहरुमा अक्टोबर ६ मा सन् २०२३ मा निर्मित ओमोडा ५ गुडिरहेको अवस्थामा पछाडिको एक्सेल र पाङ्ग्रासहितको संरचना छुट्टिएको घटना सार्वजनिक भएको थियो। घटनामा कसैलाई चोटपटक नलागे पनि यसले गाडीको संरचनागत सुरक्षा र उत्पादन गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।

मलेसियाको सडक यातायात विभागले प्राविधिक अनुसन्धान पूरा गरी सुरक्षा जोखिम समाधान भएको पुष्टि नभएसम्म ओमोडा ५ को नयाँ दर्ता प्रक्रिया स्थगित गरेको छ। रिकल अभियानमा सी र एच भेरियन्टका गाडी समेटिएका छन्।

दुई वर्षमा दोस्रो घटना, उत्पादकको गुणस्तर नियन्त्रणमाथि प्रश्न

ओमोडा ५ मा पछाडिको एक्सेलसम्बन्धी समस्या पहिलोपटक देखिएको होइन। सन् २०२४ को अप्रिलमा पनि मलेसियामा गुडिरहेको ओमोडा ५ को पछाडिको एक्सेल छुट्टिएपछि चेरीले ६०० गाडी निरीक्षणका लागि फिर्ता बोलाएको थियो।

त्यतिबेला कम्पनीको अनुसन्धानले एक्सेल वेल्डिङ गर्ने स्वचालित उपकरणको क्यालिब्रेसनमा त्रुटि रहेको औँल्याएको थियो। पछि ६० वटा गाडीमा पछाडिको एक्सेल बदल्नुपर्ने अवस्था पहिचान भएको विवरण सार्वजनिक भएको थियो। पछिल्लो घटनाको कारण पहिलो घटनासँग उस्तै हो वा फरक भन्ने विषय भने पुष्टि भइसकेको छैन।

एउटै मोडलमा समान प्रकृतिको समस्या दोहोरिएपछि उत्पादन प्रक्रियाको गुणस्तर नियन्त्रण, आपूर्तिकर्ताबाट आउने पार्टपुर्जाको परीक्षण र पहिले गरिएका सुधारको प्रभावकारिताबारे प्रश्न उठ्नु स्वाभाविक हो।

चेरीले चीन तथा अन्य सम्बन्धित बजारमा उही उत्पादन ब्याचका गाडीको पनि सावधानीपूर्वक जाँच सुरु गरेको जनाएको छ। यसले मलेसियामा देखिएको समस्या त्यहीँका गाडीमा मात्र सीमित छ वा अन्य बजारमा पनि असर पर्न सक्छ भन्ने विषयलाई महत्त्वपूर्ण बनाएको छ।