काठमाडौं, २५ असोज । बुढीगण्डकी नदीमा बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको जनाउँदै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।
महाशाखाका अनुसार चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा पनि बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन आवश्यक छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचनाको फेसबुक पेज हेर्न वा ११५५ मा फोन गरी विकल्प २ छनोट गर्न महाशाखाले अनुरोध गरेको छ।