नेपाली मौलिक स्वादको ब्रान्डिङ गर्न पाँचदिने ‘पक्कु फेस्टिभल’, ३५० जनालाई रोजगारी दिँदै प्रेसिडेन्ट ग्रुप


काठमाडौं । नेपाली मौलिक परिकारको संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटनसँग जोड्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंका चार आउटलेटमा सञ्चालन हुनेछ भने भैरहवामा आयोजना हुने फुड फेस्टिभलमार्फत पनि पक्कुको प्रवर्द्धन गरिने समूहले जनाएको छ।

समूहका अनुसार काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटमा पक्कुसहित विभिन्न परिकार उपलब्ध हुनेछन्। नेपाली समाजको परम्परागत पाककला र उत्सवसँग जोडिएको पक्कुलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुनामाझ परिचित गराउनु फेस्टिभलको मुख्य उद्देश्य हो।

प्रेसिडेन्टले विगत तीन वर्षदेखि पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ। यसलाई निश्चित अवधिको खानाको उत्सवमा सीमित नराखी नेपाली मौलिक स्वादको पहिचान स्थापित गर्ने र दीर्घकालीन ब्रान्डका रूपमा विकास गर्ने लक्ष्य राखिएको समूहले जनाएको छ।

खानालाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने लक्ष्य

प्रेसिडेन्टले नेपाली खानालाई पर्यटनको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै मौलिक परिकारको व्यावसायिक प्रवर्द्धनबाट स्थानीय उत्पादन, कृषि तथा पशुपालन, आपूर्ति शृङ्खला र रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरेको छ।

समूहका अनुसार पक्कुजस्ता परिकारलाई आधुनिक प्रस्तुति, गुणस्तरीय सेवा, स्वच्छता र व्यावसायिक मापदण्डसँग जोड्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली खानाको पहिचान विस्तार गर्न सकिन्छ। यही सोचअनुरूप फेस्टिभललाई स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म पुर्‍याउने अभियानका रूपमा अघि बढाउन खोजिएको हो।

बुटवल र बुढानीलकण्ठमा नयाँ आउटलेट खोल्ने तयारी

होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय रहेको प्रेसिडेन्ट बिजनेस ग्रुपले आफ्नो सेवा सञ्जाल विस्तार गर्ने तयारीसमेत गरेको छ। समूहले रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

समूहका विभिन्न व्यवसाय तथा आउटलेटमा हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको जनाइएको छ। नयाँ आउटलेट सञ्चालनमा आएपछि सेवा क्षेत्रको पहुँच विस्तार हुनुका साथै थप रोजगारी सिर्जना हुने अपेक्षा समूहले गरेको छ।

प्रेसिडेन्टले आफ्नो व्यावसायिक विस्तारलाई कारोबार वृद्धिमा मात्र सीमित नराखी दक्ष जनशक्ति विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यसँग जोडेको जनाएको छ।

उत्सवको परिकारलाई दीर्घकालीन ब्रान्ड बनाउने प्रयास

पक्कु नेपाली समाजको परम्परागत खानपान र उत्सवसँग जोडिएको परिकार हो। यसलाई नियमित बजारमा स्थापित गर्न सके मौलिक पाककला संरक्षणसँगै व्यावसायिक अवसर विस्तार गर्न सकिने समूहको विश्वास छ।

तेस्रो संस्करणसम्म आइपुग्दा ग्राहक तथा स्वादका पारखीबाट प्राप्त सुझाव र नेपाली खानाप्रतिको आकर्षणले अभियानलाई निरन्तरता दिन प्रेरित गरेको प्रेसिडेन्टले जनाएको छ।

समूहले आगामी दिनमा पक्कुलाई फेस्टिभलमा मात्र सीमित नराखी बजार विस्तार, ब्रान्डिङ र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जोड दिने लक्ष्य राखेको छ। नेपाली मौलिक खानाको संरक्षण र प्रवर्द्धनलाई निजी क्षेत्र, पर्यटन व्यवसायी र सरोकारवाला सबैको साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा पनि समूहले जोड जोड दिएको छ।