भैरहवा । नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ ।
डीपीआर निर्माणका लागि बुधवार काठमाडौ विश्वविद्यालयको इन्जिनियरिङ विभागसँग निगमले भैरहवाको निर्माणाधीन आयोजना स्थलमा डीपीआर सम्झौता गरेको हो।
डीपीआरको लागत १ करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ छ। नयाँ बन्ने डीपो १४ बिगाहा र अन्य गरि २१ बिगाहा क्षेत्रफलमा रहनेछ। रुपन्देहीस्थित रोहिणी गाउँपालिका र सत्या गाउँपालिकाको सिमानामा पर्ने रोहिणी खोला किनारमा डीपो बन्ने छ ।
डीपीआर सम्झौतामा आयल निगमका उपनिर्देशक तथा हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप यादव र काठमाडौ विश्वविद्यालय इन्जिनियरिङ विभागका कन्सल्टेन्सी विभाग प्रमुख इन्जिनियर विवेक बरालले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा हस्ताक्षरपछि काठमाडौ विश्वविद्यालयका कन्सल्टेन्सी बिभागका प्रमुख बरालले निश्चित समयसिमा भित्र डीपीआर निर्माणको काम सक्ने बताए।
निगमका सिनामंगलस्थित डीपो प्रमुख यादवले डीपो तीन वर्ष भित्र निर्माण सम्पन्न हुने बताए। नयाँ बन्ने डीपो अत्याधुनिक तथा सुविधा सम्पन्न हुने उनले जानकारी दिए। नयाँ बन्ने डीपोको लागत तीन अर्ब २० करोड हुने छ।
‘डीपीआरका लागि ६ महिनाको समय निर्धारण गरिएको छ, समयमा नै डीपीआर बन्छ, त्यसपछि सार्वजनिक खरिद ऐन अनुसार टेण्डरको प्रक्रियामा जान्छौं,२०८४ मंसिरसम्म डीपो बन्छ, बनाइसक्छौं,’ यादवले भने।