रामेछापमा विनिता खड्काको उदय, ८११ मतसहित महाधिवेशन प्रतिनिधि


रामेछाप। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि रामेछापबाट भएको प्रतिनिधि चयनमा केन्द्रीय सदस्य विनिता खड्काले सर्वाधिक मतसहित जित निकालेकी छन्। खुला महिलातर्फ ८११ मत प्राप्त गर्दै उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन्।

अन्तिम मतपरिणामअनुसार यही समूहमा चिना खड्का कार्कीले ७५९, एन्जिला न्यौपानेले ५८१ र उमिला (कार्की) बस्नेतले ६१६ मत प्राप्त गरेका छन्।

रामेछाप कांग्रेसको प्रतिनिधि छनोट प्रक्रिया यसपटक सामान्य निर्वाचनजस्तो मात्र रहेन। जिल्लाभित्रको गुटगत समीकरण, प्रभावशाली नेताहरूको सक्रियता र प्रतिनिधि व्यवस्थापनलाई लिएर चुनावअघि नै व्यापक चर्चा थियो। मतगणना प्रक्रियामा ढिलाइ भएपछि यसको पछाडि विभिन्न दबाब र राजनीतिक चलखेल भएका थिए।

अन्ततः मतगणना सम्पन्न हुँदा खड्काले बलियो मतान्तरसहित आफ्नो स्थान सुरक्षित गरिन्। ८११ मतसहित उनी निर्वाचित हुँदा रामेछाप कांग्रेसभित्र उनको सांगठनिक प्रभावबारे पनि चर्चा सुरु भएको छ।

रामेछाप कांग्रेसमा लामो समयदेखि प्रभावशाली नेताहरूको आ–आफ्नै समूहगत उपस्थिति रहँदै आएको छ। यस्तो राजनीतिक संरचनाबीच युवा पुस्ताबाट आएकी खड्काले प्रतिनिधिहरूबाट पाएको मतलाई उनको राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण अध्यायका रूपमा हेरिएको छ। यो निर्वाचनले जिल्लाभित्र पुस्तान्तरण, महिला सहभागिता र नयाँ पुस्ताको प्रतिनिधित्वबारे चलिरहेको बहसलाई पनि थप सतहमा ल्याएको छ।

खड्काको कांग्रेस यात्रा भने पछिल्लो निर्वाचनबाट सुरु भएको होइन। उनी यसअघि पनि रामेछापबाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन भइसकेकी थिइन् र १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारीसमेत दिएकी थिइन्।

२०८० सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्यमा मनोनित भएकी उनी २०८२ को विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेकी हुन्।

यसपटकको ८११ मत भने उनका लागि केवल प्रतिनिधि चयनको परिणाममा सीमित छैन। यसले रामेछाप कांग्रेसको तल्लो तहसँग उनको सम्बन्ध, युवा पुस्तामाझको राजनीतिक पहुँच र आगामी महाधिवेशनमा उनको भूमिकालाई लिएर थप चर्चा जन्माएको छ।

रामेछापबाट १५औँ महाधिवेशनका लागि विभिन्न समूहबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।