मलेसियामा नेपाली श्रमिकका अधिकार संरक्षण गर्न नेपाल–मलेसिया मानव अधिकार आयोगबीच सहकार्य नवीकरण


काठमाडौं। मलेसियामा कार्यरत नेपाली श्रमिकको मानव अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार आयोगबीचको सहकार्य थप तीन वर्षका लागि नवीकरण भएको छ।

मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल (NHRCN) बीच २०२६ देखि २०२८ सम्म लागू हुने समझदारीपत्र (MoU) नवीकरण गरिएको हो। सेप्टेम्बर २३ मा क्वालालम्पुरस्थित SUHAKAM मुख्यालयमा भएको कार्यक्रममा SUHAKAM का अध्यक्ष दातो सेरी मोहम्मद हिशामुदिन युनुस र NHRCN का अध्यक्ष माननीय टोपबहादुर मगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

दुवै आयोगले सन् २०१९ मा पहिलोपटक यस्तो समझदारी गरेका थिए। त्यसयता दुई आयोगबीच सूचना आदानप्रदान, उजुरीसम्बन्धी दुईतर्फी समन्वय, संयुक्त अनुगमन, अनुसन्धान तथा आप्रवासी श्रमिकको अधिकार संरक्षणका विषयमा सहकार्य हुँदै आएको छ।

नेपाली श्रमिकका ४६ उजुरी

SUHAKAM का अनुसार मलेसियामा हाल करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन्। सन् २०२१ देखि अगस्ट २०२६ सम्म आयोगमा नेपाली श्रमिकसँग सम्बन्धित ४६ वटा उजुरी प्राप्त भएका छन्।

उजुरीमा रोजगारदाताले राहदानी नियन्त्रणमा राखेको, दैनिक १२ घण्टासम्म तथा लगातार ३० दिनसम्म बिदाबिना काम लगाएको, पारिश्रमिक नदिएको वा ढिलाइ गरेको, ओभरटाइमबापतको रकम नदिएको, असुरक्षित कार्यस्थल तथा पर्याप्त सुरक्षा व्यवस्था नभएको लगायतका मानव अधिकार उल्लंघनका आरोप छन्।

मृत्यु र जबर्जस्ती श्रमदेखि सामाजिक सुरक्षासम्म

नवीकरण गरिएको समझदारीले नेपाली आप्रवासी श्रमिकमाथि हुने मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धान र अनुगमनलाई प्राथमिकतामा राखेको छ।

त्यसअन्तर्गत हिरासत केन्द्रको अवस्था, श्रमिकको अधिकार उल्लंघन, उच्च मृत्यु दर, भर्ती शुल्क र जबर्जस्ती श्रमको जोखिम सम्बन्धमा नीति पैरवी तथा अनुगमन गर्ने योजना छ।

त्यस्तै, नेपाली श्रमिकलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा सहज पहुँच दिलाउन Social Security Organisation (SOCSO/PERKESO) सँग समन्वय गर्ने तथा महिला आप्रवासी श्रमिकको अधिकार र लैंगिक समानताका विषयमा संयुक्त पैरवी गर्ने सहमति भएको छ।

दुवै आयोगले आप्रवासी श्रमिकलाई न्यायमा सहज पहुँच सुनिश्चित गर्न दुवै देशका सरकारलाई मानव अधिकारको दृष्टिकोणबाट नीतिगत सुधारका लागि सिफारिस गर्ने र नेपाली सुरक्षा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने विषयलाई पनि सहकार्यको क्षेत्रमा समेटेका छन्।

नेपाली दूतावास र एनआरएनएसँग छलफल

समझदारी नवीकरणसँगै NHRCN को टोलीले मलेसियामा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन क्वालालम्पुरस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियासँग छलफल गरेको छ।

SUHAKAM को समन्वयमा मलेसियाको जेल विभाग र SOCSOसँग समेत बैठक तथा परामर्श गरिएको जनाइएको छ।

दुवै आयोगले मलेसियामा मानव अधिकार उल्लंघन भएको वा त्यस्तो घटना देखेका नेपाली श्रमिकलाई SUHAKAM मा उजुरी दर्ता गर्न आग्रह गरेका छन्। प्राप्त उजुरीलाई SUHAKAM को उजुरी व्यवस्थापन तथा गोपनीयतासम्बन्धी प्रक्रियाअनुसार सम्बोधन गरिने जनाइएको छ।