काठमाडौं । नेपालको धितोपत्र बजारमा पहिलोपटक अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयनको औपचारिक तयारी अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) ले बजारमा तरलता बढाउने र मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यसहित अन्तरदिवसीय कारोबारसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको हो।
बोर्डले सार्वजनिक गरेको ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ मा सरोकारवालाबाट राय तथा सुझावसमेत मागिएको छ।
सुरुवातमा ‘Buy First, Sell Later’
SEBON ले अन्तरदिवसीय कारोबारलाई एकैपटक पूर्ण रूपमा लागू नगरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ।
प्रारम्भिक चरणमा लगानीकर्ताले पहिले सेयर खरिद गर्ने र सोही कारोबार दिनभित्र बिक्री गर्ने ‘Buy First, Sell Later’ मोडल मात्र लागू गर्ने प्रस्ताव गरिएको छ।
‘Sell First, Buy Later’ पछि मात्रै
पहिले सेयर बिक्री गरेर पछि खरिद गर्ने ‘Sell First, Buy Later’ मोडल भने तत्काल लागू नहुने भएको छ।
यसका लागि धितोपत्र ऋण तथा लगानी (Securities Lending and Borrowing) र कभर गरिएको सट बिक्री (Covered Short Selling) सम्बन्धी आवश्यक पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्र दोस्रो चरणमा यो व्यवस्था लागू गरिने बोर्डले जनाएको छ।
सीमित सेयरबाट परीक्षण
सुरुवाती चरणमा बजार दुरुपयोगको जोखिम नियन्त्रण गर्न पर्याप्त तरलता भएका र नियमित कारोबार हुने सीमित धितोपत्रलाई मात्र योग्य बनाउने प्रस्ताव गरिएको छ।
परीक्षणबाट प्राप्त अनुभव र जोखिम व्यवस्थापनको अवस्थाका आधारमा पछि योग्य धितोपत्रको दायरा विस्तार गरिनेछ।
अन्तरदिवसीय कारोबारसम्बन्धी अवधारणापत्र अर्थ मन्त्रालयको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ र बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार तयार गरिएको SEBON ले जनाएको छ।
