काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले संस्थाको नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बरको प्रयोगलाई लिएर गम्भीर आपत्ति जनाएको छ ।
महासंघका महासचिव चन्द्रविलास भुर्तेलले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट महासंघको आधिकारिक पहिचान प्रयोग गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायमा पत्राचार भइरहेको दाबी गरेका छन् ।
महासंघको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय तथा सचिवालयको निर्धारित प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्रै हुनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
सो प्रक्रियाविपरीत जारी भएका पत्र, निर्णय तथा सूचनालाई क्यान महासंघको आधिकारिक धारणा वा निर्णयका रूपमा नलिन महासचिव भुर्तेलले आग्रह गरेका छन् ।
उनले महासंघको लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल रोक्न सम्बन्धित पक्षलाई सचेत गराएका छन् । यस्ता गतिविधिले संस्थाको आधिकारिकता, प्रतिष्ठा र कामकारबाहीमा असर पार्न सक्ने भन्दै उनले आवश्यक परे विधान र प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने बताएका छन् ।
महासचिवले क्यान महासंघको नामबाट प्राप्त कुनै पनि पत्र वा निर्देशन कार्यान्वयन गर्नुअघि महासंघको सचिवालयबाट आधिकारिकता पुष्टि गर्न सदस्य संस्था, सरकारी निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारवालालाई अनुरोध गरेका छन् ।
महासंघभित्र कार्यवाहक अध्यक्षको अधिकार प्रयोगलाई लिएर पनि असन्तुष्टि देखिएको छ । महासचिव भुर्तेलले सचिवालयको जानकारीबिना प्रशासनिक निर्देशन दिने, व्यक्तिगत इमेलबाट पत्राचार गर्ने तथा संस्थागत निर्णय प्रक्रियालाई बेवास्ता गर्ने गतिविधि भएको आरोप लगाएका छन् ।
यस घटनाले क्यान महासंघमा संस्थाको आधिकारिक पत्राचार कसले र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा प्रश्न उठाएको छ । महासंघको संस्थागत प्रक्रिया र अधिकारक्षेत्रबारे देखिएको विवाद आगामी निर्वाचनसँग जोडिँदै थप पेचिलो बन्ने संकेत देखिएको छ ।