काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउन लागेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न क्षेत्रलाई समेटेर यी प्याकेजमार्फत काम तीव्र पारिएको जानकारी दिए।
अर्थमन्त्रीका अनुसार पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा प्रभावित उद्योगी, व्यवसायी र सर्वसाधारणको पुनःस्थापनालाई प्राथमिकतामा राखिएको छ, जसका लागि आवश्यक अध्ययन सम्पन्न भइसकेको छ।
दोस्रो प्याकेजमा सुस्त बनेको पुँजीबजारलाई उकास्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको घोषणा गर्ने तयारी भइरहेको छ। निजी क्षेत्रको प्रवर्द्धन तथा पुनरुत्थानका लागि ल्याइने विशेष प्याकेजलाई तेस्रो प्राथमिकतामा राखिएको उनले बताए।
त्यस्तै, नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट हटाउने विषय चौथो प्याकेजका रूपमा अघि बढाइएको छ। पाँचौँ प्याकेजअन्तर्गत बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि वैदेशिक सहायता र अन्तर्राष्ट्रिय फण्ड भित्र्याएर व्यवस्थित परिचालन गरिने अर्थमन्त्रीले स्पष्ट पारे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति पुगेकाले प्रभावित उद्योगी-व्यवसायीका लागि सरकारले तत्काल विशेष राहत र प्रवर्द्धन प्याकेज ल्याउनुपर्नेमा जोड दिए।