बाढी प्रभावितमा युलेन्सद्वारा बीस लाख रुपैयाँ सहयोग


काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन युलेन्स एजुकेसन फाउन्डेसनले रु. २० लाख प्रदान गरेको छ।

फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रष्टीज, शिक्षक तथा कर्मचारीको संयुक्त पहलमा रकम जुटाइएको हो।

सङ्कलित रकमको चेक फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिनेछ।

बाढीका कारण विस्थापित परिवार तथा प्रभावित विद्यार्थीलाई खाद्यान्न, तत्कालीन राहत र अस्थायी आवास व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको फाउन्डेसनले जनाएको छ।

चेक हस्तान्तरण गर्दै अध्यक्ष पनेरुले विगतमा आफ्नै विद्यालयका भौतिक संरचनासमेत विपद्बाट प्रभावित भएको स्मरण गर्दै संकटका बेला प्रभावित समुदायसँग उभिनु संस्थाको सामाजिक दायित्व भएको बताउनुभयो।

युलेन्सले शिक्षा केवल पाठ्यक्रम र कक्षाकोठामा सीमित विषय नभई सामाजिक जिम्मेवारी र मानवीय संवेदनासँग जोडिनुपर्ने मान्यताका साथ काम गर्दै आएको जनाएको छ। दुई दशकभन्दा लामो समयदेखि शिक्षाका साथै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको फाउन्डेसनले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने अभियानलाई पनि सोही अभ्यासको निरन्तरता भनेको छ।