काठमाडौं । नेपालको पुँजी बजारमा कृषि क्षेत्रको कम्पनीको प्रवेश हुने भएको छ। सौर्य कृषि कम्पनी लिमिटेडले २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ।
सौर्य कृषि कम्पनीको प्रस्ताव सेबोनको पाइपलाइनमा प्रवेश गरिसकेको छ। बोर्डबाट स्वीकृति पाएपछि मात्रै कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रक्रिया अघि बढाउन सक्नेछ।
कृषि तथा पशुपन्छी क्षेत्रमा केन्द्रित कम्पनीको सेयर पुँजी बजारमा आउन लागेको विषयलाई कृषि व्यवसायको औपचारिकीकरण र पुँजी बजारसँगको विस्तारिँदो सम्बन्धका रूपमा पनि हेरिएको छ।
हेटौंडा, मकवानपुरमा रहेको कम्पनीले कुखुरा, गाई, भैंसी, बंगुर तथा माछाका लागि पशु आहार तथा पोषणसम्बन्धी उत्पादन गर्दै आएको छ। सन् २०१७ मा निजी कम्पनीका रूपमा स्थापना भएको सौर्य कृषि २०२४ डिसेम्बरमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।
कमजोर क्रेडिट रेटिङ चुनौती
कृषि क्षेत्रको कम्पनीका रूपमा बजारमा प्रवेशको तयारी गरिरहँदा सौर्य कृषि कम्पनीको क्रेडिट रेटिङ भने लगानीकर्ताका लागि चासोको विषय बनेको छ।
केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘CARE-NP B+ (Is)’ issuer rating दिएको छ। उक्त रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्न नसक्ने जोखिम उच्च रहेको संकेत गर्छ।
त्यसैले प्रस्तावित आईपीओ कृषि क्षेत्रको नयाँ कम्पनी पुँजी बजारमा प्रवेश गर्ने अवसर मात्र नभई कम्पनीको वित्तीय जोखिम, व्यवसायिक क्षमता र दीर्घकालीन स्थायित्व परीक्षण हुने चरणका रूपमा समेत हेरिनेछ।
सेबोनको स्वीकृति र त्यसपछि हुने आईपीओ निष्कासनसँगै कृषि व्यवसायमा आधारित कम्पनीले पुँजी बजारमा कस्तो स्थान बनाउँछ भन्ने विषय लगानीकर्ताको चासोमा रहनेछ।