चितवन। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा स्मार्ट कार्ड प्राप्त गर्न भरतपुर धाइरहनुपर्ने कालिका नगरपालिकाका सेवाग्राहीको सास्ती अब अन्त्य हुने भएको छ। कालिका नगरपालिकाबाटै सवारी चालक अनुमतिपत्रको ‘स्मार्ट कार्ड’ वितरण सेवा सुरु गरिएको छ।
यससँगै कालिका नगरपालिका तथा आसपासका सेवाग्राहीले लाइसेन्स सम्बन्धी सेवा लिन पटक–पटक भरतपुर पुग्नुपर्ने बाध्यता हट्ने भएको हो। स्थानीय तहबाटै सेवा उपलब्ध भएपछि समय, यातायात खर्च तथा सेवाग्राहीको झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ।
नगरपालिकाबाटै स्मार्ट कार्ड वितरण सुरु भएपछि विशेषगरी ग्रामीण तथा टाढाका क्षेत्रबाट आउने सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्नेछ। यसअघि स्मार्ट कार्ड लिन वा सम्बन्धित कामका लागि भरतपुर पुग्नुपर्ने अवस्था रहेकोमा अब स्थानीय तहमै सेवा विस्तार भएको हो।

स्थानीय तहबाटै सरकारी सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यअनुसार सेवा विस्तार गरिएको नगरपालिकाले जनाएको छ।
लाइसेन्स वितरण सेवा स्थानीय स्तरमै उपलब्ध हुनु नागरिकलाई सार्वजनिक सेवा घरदैलोमै पुर्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
#कालिकानगरपालिका#चितवन#लाईसेन्स#स्मार्टकार्ड#सार्वजनिकसेवा