नबिल बैंकले १५.८० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो


काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको ७१२औँ बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार बैंकले ५ प्रतिशत बोनस शेयरमार्फत करिब १ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर वितरण गर्नेछ। त्यस्तै, करसहित १०.८० प्रतिशत नगद लाभांशमार्फत करिब २ अर्ब ९२ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ।

नबिल बैंकको हालको चुक्ता पुँजी करिब २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ।

अग्राधिकार शेयरधनीलाई ८ प्रतिशत

बैंकले अग्राधिकार शेयरधनीका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ। यसका लागि करिब २३ करोड ३४ लाख रुपैयाँ छुट्याइएको छ। बैंकको अग्राधिकार शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश भने तत्काल वितरण हुने छैन। यसका लागि पहिले नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गर्नुपर्नेछ। त्यसपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र योग्य शेयरधनीलाई लाभांश वितरण गरिनेछ।

नबिल बैंकले प्रस्ताव गरेको कुल १५.८० प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ।